देउवा पक्षले आजदेखि समानान्तर वडा अधिवेशन गर्दै

३ हप्ता अगाडि
देउवा पक्षले आजदेखि समानान्तर वडा अधिवेशन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आजदेखि समानान्तर वडा अधिवेशन सुरु गर्दैछ ।

शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन तयारी समिति बनाएर देउवा पक्षले देशभर वडा अधिवेशन गर्न लागेको हो । गगन थापा नेतृत्वको कांग्रेसले यसअघि असोज ३ र ४ गते वडा अधिवेशन गरिसकेको थियो । उक्त अधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन ।

देउवाले बिहीबार अपिल जारी गर्दै पार्टीको १५औँ महाधिवेशनमा उत्साहका साथ सहभागी हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पार्टीभित्रका मतभेद महाधिवेशनमार्फत समाधान गर्दै कांग्रेसलाई थप मजबुत बनाउने बताएका छन् ।

देउवा पक्षले देशभरका ६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्ने जनाएको छ । मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने देउवा पक्षको तयारी छ ।

देउवा पक्षको अधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको छ । गगन थापा पक्षले भने सबै तहका नेता वडा तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको थियो ।