काठमाडौं । देशका केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना देखिएको हो।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा पनि आंशिक बदली रहनेछ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
मधेस प्रदेशसहित कोसी र वाग्मती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मध्यमसम्म वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा देशका तराई क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ।
रातिको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यसैबीच, तराईका विभिन्न भूभागमा हुस्सु लाग्ने सम्भावना रहेको विभागले जनाएको छ। हुस्सुका कारण विशेषगरी बिहानको समयमा दैनिक जनजीवन तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।