काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शनिबार पत्रकार सम्मेलन गर्दै शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै शर्माले पार्टीका अग्रज, साथी तथा देशभरबाट आउने महाधिवेशन प्रतिनिधिहरूको साथ र सहयोगको अपेक्षा रहेको बताए। उनले कांग्रेसलाई जनतासँग जोड्ने र त्यसपछि देश निर्माणको अभियान अघि बढाउने आफ्नो उद्देश्य रहेको बताए।
‘पदाधिकारीमा मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट आउनुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिज्यूहरूले यो अभियानमा साथ दिनुहुनेछ भन्ने अपेक्षा छ,’ उनले भने।
शर्माले बदलिँदो राजनीतिक परिस्थितिअनुसार कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्न आवश्यक रहेको बताए। उनले पार्टीलाई दूरदराजका नागरिकसम्म पुर्याउँदै उनीहरूका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताए।
उनका अनुसार कांग्रेसले आम नागरिकसँगको सम्बन्धलाई थप बलियो बनाउनुपर्ने आवश्यकता छ। त्यसका लागि पार्टीको संगठनलाई जनतासँग जोड्ने र नागरिकका दैनिक समस्या तथा आवश्यकतालाई राजनीतिक बहसको केन्द्रमा ल्याउने उनको योजना छ।
शर्माले महामन्त्री पदमा उम्मेदवारीमार्फत कांग्रेसलाई थप जनमुखी बनाउने अभियान अघि बढाउने बताए।