मौसम पूर्वानुमान

आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

२ हप्ता अगाडि
आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा पश्चिमी वायु तथा केही क्षेत्रमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको हो ।

त्यस्तै, कोसी, मधेस र वाग्मती प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका भू-भागमा पनि आंशिक बदली रहने पूर्वानुमान छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

मौसममा आएको परिवर्तनसँगै हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।