काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनसँगै बन्दसत्र पनि काठमाडौंको खुलामञ्चमै हुने भएको छ।
ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने भएकाले त्यसअनुसार संरचना निर्माण गरिएको छ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गर्ने तालिका छ।
बन्दसत्रका लागि खुलामञ्चमा तीनवटा ठूला हल तयार गरिएका छन्। छलफलका लागि तयार गरिएका हलको नाम हिमाल, पहाड र तराई–मधेस राखिएको छ।
प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह बनाएर तीनवटै हलमा छलफल गराइने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए। प्रत्येक हलमा राखिएका डिजिटल बोर्डमार्फत सहभागीले प्रस्तुत प्रतिवेदन हेर्न र सुन्न सक्ने व्यवस्था गरिएको छ।