काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनका नागरिक पूर्वाधारमा हमला बढाए रुसी तेल प्रशोधन केन्द्रलाई निशाना बनाएर जवाफ दिने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा जेलेन्स्कीले रुसले आगामी जाडोमा युक्रेनका ऊर्जा, ढुवानी, सडक, विद्यालय र अस्पतालजस्ता संरचनामा हमला गर्ने तयारी गरिरहेको सूचना पाएको बताएका छन्।
उनले रुसले ऊर्जा पूर्वाधारमा हमला गरे युक्रेनले पनि युद्धका लागि आम्दानी जुटाउने रुसी ऊर्जा संरचनालाई निशाना बनाउने बताए। उनका अनुसार तेल प्रशोधन केन्द्रलाई प्राथमिकतामा राखिनेछ, तर युक्रेनले नागरिकका लागि अत्यावश्यक संरचनामाथि हमला नगर्ने दाबी गरे।
रुसी विदेश मन्त्रालयले शनिबार विदेशी नागरिक तथा कूटनीतिज्ञलाई राजधानी किभसहित अन्य सहर छाड्न चेतावनी दिएको थियो। रुसले ती क्षेत्रमा हमला बढ्न सक्ने भन्दै सहर नछाडे त्यसको जिम्मेवारी आफूले नलिने चेतावनी दिएको थियो।
जेलेन्स्कीका अनुसार रुसले पछिल्लो एक सातादेखि किभमा ड्रोन र क्षेप्यास्त्रबाट लगातार हमला गरिरहेको छ। ऊर्जा तथा दूरसञ्चार संरचना, सडक र रेल पूर्वाधारलाई निशाना बनाइएको उनले बताए।
युक्रेनी अधिकारीहरूले आगामी जाडोमा विद्युत् र पानीका संरचनामाथि ठूलो हमला गर्न रुसले सयौँ ब्यालिस्टिक क्षेप्यास्त्र भण्डारण गरेको दाबी गरेका छन्। गत जाडोमा रुसी हमलाका कारण युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् र ताप प्रणाली लामो समय अवरुद्ध भएको थियो।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि वार्ता अघि बढाउने प्रयास गरिरहेको छ। ट्रम्पले गत महिना युक्रेनलाई रुसी तेल संरचनामाथि हमला नगर्न आग्रह गरेका थिए।
जेलेन्स्कीले भने रुसले युद्धविराम वा शान्ति वार्तामा रुचि देखाएको कुनै संकेत नदेखिएको बताएका छन्। उनले डिसेम्बरमा अमेरिकाको मायामीमा हुने जी–२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शान्ति वार्ता गर्न आफू तयार रहेको पनि बताएका छन्।