काठमाण्डौ । गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा कपिलवस्तुको रंगैमा ६३ मिलिमिटर मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको हो।
महाशाखाले आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै ठाउँमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाडी भूभागका थोरै ठाउँमा मध्यमसम्म वर्षा हुने सम्भावना छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई ठाउँमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ।
त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको आंशिक प्रभावसमेत रहेको महाशाखाले जनाएको छ।
महाशाखाले वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।