काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट बाहिरिएका छन्। नेकपाका वरिष्ठ नेता खनालले सोमबार "समाजवादी जागरण अभियान" घोषणा गरेका हुन्।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्न अभियान सञ्चालन गरिएको बताए।
खनालको नेतृत्वमा शनिबार गोप्य भेला भएको थियो। उक्त भेलाबाट पारित प्रस्ताव सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
प्रस्तावमा कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन र पुनर्संरचना गर्दै वैचारिक तथा राजनीतिक एकताको आधार निर्माण गर्न सबै कम्युनिस्ट समूहलाई आग्रह गरिएको छ।