काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २० दशमलव ४८ अंकले घटेर २ हजार ५६६ दशमलव ७६ विन्दुमा बन्द भएको छ।
कारोबार रकम पनि घटेको छ। शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार ३५९ वटा धितोपत्रका ९० लाख ३ हजार ३८८ कित्ता सेयर किनबेच भएका छन्। ३२ कम्पनीको सेयर मूल्य बढ्दा २४२ कम्पनीको घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रह्यो।
१० दशमलव ३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक डिबेन्चरको मूल्य सर्वाधिक ५ दशमलव ७५ प्रतिशत बढेर १ हजार १३६ रुपैयाँ ९० पैसा पुगेको छ। १० प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चरको मूल्य ४ दशमलव ९८ प्रतिशत बढेर १ हजार १६० रुपैयाँ पुगेको छ।
त्रिशूली जलविद्युत्को सेयर मूल्य सर्वाधिक ८ दशमलव ८४ प्रतिशत घटेर २७४ रुपैयाँमा झरेको छ। सिन्धु विकास बैंकको मूल्य ५ दशमलव ८० प्रतिशत घटेर ४२२ रुपैयाँमा सीमित भएको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको २७५ रुपैयाँका दरले २ अर्ब २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। हाथवे इन्भेस्टमेन्टको ८ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूह बढेको छ भने बाँकी १२ समूह घटेका छन्। वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव १० प्रतिशत घटेको छ।