काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको आकार २८१ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ।
२०७८ को १४औँ महाधिवेशनमा १६८ सदस्यीय रहेको केन्द्रीय समिति गत पुसमा भएको विशेष महाधिवेशनबाट २३१ सदस्यीय बनाइएको थियो। अहिले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि समितिको आकार बढाएर २८१ सदस्यीय बनाउने समझदारी भएको हो।
विधान संशोधन प्रस्तावमा केन्द्रीय समिति तथा पदाधिकारीको संख्या बढाउने प्रस्ताव गरिएको छ। सोमबार खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले प्रस्ताव अनुमोदन गरी बन्दसत्रमा पेस गर्ने तयारी गरेको छ।
प्रस्तावअनुसार एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिलासहित तीन उपसभापति, तीन महामन्त्री र १४ सहमहामन्त्री रहनेछन्। सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र तीन जना मनोनीत हुने व्यवस्था प्रस्ताव गरिएको छ। तीन मनोनीतमध्ये एक महिला अनिवार्य हुनेछन्।
खुलातर्फ ४५ केन्द्रीय सदस्य र खुला महिलातर्फ १७ सदस्य रहने प्रस्ताव छ। अन्य समूहमा पनि यसअघिको तुलनामा संख्या बढाइएको छ।
केन्द्रीय समिति विस्तारलाई कतिपय नेताले आकांक्षी व्यवस्थापनसँग जोडेर हेरेका छन्। कांग्रेस प्रवक्ता देवराज चालिसेले भने संख्या बढाउनुको अर्थ नेता व्यवस्थापन नभई पार्टीको कार्यक्षेत्र विस्तार भएको दाबी गरेका छन्।