साउदीमा सैन्य बल तैनाथ गर्न साउदी, पाकिस्तान र टर्कीबीच सहमति

२ हप्ता अगाडि
साउदीमा सैन्य बल तैनाथ गर्न साउदी, पाकिस्तान र टर्कीबीच सहमति

काठमाडौं । यमनका हुथी विद्रोही समूहबाट साउदी अरेबियामाथि आक्रमण बढेपछि साउदीमा सैन्य बल तैनाथ गर्न साउदी अरेबिया, पाकिस्तान र टर्कीले साउदीमा सैन्य बल तैनाथ गर्ने सहमति गरेका छन्।

साउदी राजधानी रियाधमा सोमबार बसेको मक्का गठबन्धनको रणनीतिक राजनीतिक तथा रक्षा समितिको आपतकालीन बैठकपछि पाकिस्तानको विदेश मन्त्रालयले तीन देशबीच भएको सहमति सार्वजनिक गरेको हो।

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार तीन देशले सहमत सैन्य बल तथा आवश्यक क्षमता उपलब्ध गराउँदै साउदीमा सैन्य बलको द्रुत तैनाथी सुनिश्चित गर्ने निर्णय गरेका छन्।

साउदीका रक्षामन्त्री खालिद बिन सलमानले गठबन्धनका सदस्य राष्ट्रहरू हुथी आक्रमण तथा त्यसका लागि जिम्मेवार पक्षविरुद्ध सेना तैनाथ गर्न सहमत भएको बताएका छन्।

यो निर्णय साउदी समर्थित यमनी सरकारी सेनाले हुथीको नियन्त्रणमा रहेका क्षेत्र फिर्ता लिन जवाफी कारबाही तीव्र पारिरहेका बेला आएको हो।

गत अगस्ट ७ मा हस्ताक्षर भएको पारस्परिक रक्षा सम्झौताअनुसार कुनै एक सदस्य राष्ट्रमाथिको आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमणका रूपमा लिने व्यवस्था गरिएको छ। उक्त सम्झौतालाई नेटोको सामूहिक रक्षा अवधारणासँग तुलना गरिँदै आएको छ।

सम्झौतामा सुरुमा सैन्य दायित्वबारे विस्तृत व्यवस्था नगरिए पनि हुथी आक्रमण बढेपछि साउदीमा द्रुत सैन्य तैनाथी सुनिश्चित गर्ने सामूहिक रक्षात्मक उपाय तत्काल कार्यान्वयन गर्ने सहमति भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

यस्ता रक्षात्मक उपाय सम्बन्धित देशका कानुन तथा स्वीकृत व्यवस्थाअनुसार कार्यान्वयन गरिने जनाइएको छ।

यसअघि सेप्टेम्बरमा हुथी आक्रमण बढेपछि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले साउदीमाथि आक्रमण भए मक्का सम्झौता सक्रिय हुन सक्ने बताएका थिए। यद्यपि, अमेरिका–इरान द्वन्द्वमा मध्यस्थताको प्रयास गरिरहेका पाकिस्तान र टर्कीले अहिलेसम्म प्रत्यक्ष सैन्य कदम चालेका थिएनन्।

‘ग्लोबल फायरपावर इन्डेक्स २०२६’ अनुसार साउदी अरेबिया, पाकिस्तान र टर्कीसँग संयुक्त रूपमा करिब १४ लाख सक्रिय सैनिक, तीन हजार ४०० सैन्य विमान, ६ हजार ट्यांकर तथा ३४० भन्दा बढी नौसैनिक सम्पत्ति रहेको दाबी गरिएको छ।