मौसम पूर्वानुमान

आज केही स्थानमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

२ हप्ता अगाडि
आज केही स्थानमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

काठमाडौं । देशका केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसममा बदलीसँगै केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

नेपाल मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि बादल लाग्ने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।

राति हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेससहित कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

विभागका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

कोसी, मधेस र वाग्मती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा भने मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।

वर्षा, मेघगर्जन तथा चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।