काठमाडौं । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा कास्कीको मालेपाटन केन्द्रमा ३४.४ मिलिमिटर मापन भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ः३८ बजेसम्म कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।
महाशाखाका अनुसार बुधबार देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि सामान्यतया बादल लाग्ने तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
हिमाली क्षेत्रका थोरै तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेससहित कोसी, बागमती र गण्डकीका तराईका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र र बागमती, गण्डकी तथा कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोसी प्रदेशका सबै स्थान तथा देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। तराईमा आंशिक बदली रहनेछ भने बिहानीपख हुस्सु तथा कुहिरो लाग्न सक्नेछ।
हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै तथा कोसी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।