मेसीको अन्तर्राष्ट्रिय फुटबलबाट भावुक बिदाइ

२ हप्ता अगाडि
मेसीको अन्तर्राष्ट्रिय फुटबलबाट भावुक बिदाइ

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले निलो-सेतो जर्सीमा अन्तिम खेल खेल्दै २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करियर टुंग्याएका छन्।

मंगलबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलमा मेसीले एक गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेपछि अर्जेन्टिनाले ३-० को जित निकालेको हो।

८५ हजारभन्दा बढी दर्शकले भरिएको मोनुमेन्टल स्टेडियममा मेसीको अन्तिम खेल फुटबल खेलभन्दा पनि राष्ट्रिय उत्सवजस्तै बनेको थियो। अर्जेन्टिनाका समर्थकले राष्ट्रिय टोलीमा मेसीले दिएको दुई दशकभन्दा लामो योगदानका लागि भावुक हुँदै उनलाई बिदाइ गरे।

खेलपछि मेसीले अर्जेन्टिनाको जर्सी लगाएर दुई दशकभन्दा बढी खेल्न पाउनु ठूलो गर्वको विषय भएको बताए। हालै आफ्ना बुबाको निधन भएको उल्लेख गर्दै उनले अन्तिम खेलमा उनलाई सम्झिएको बताए।

‘अब यहाँ आउन नपाउँदा धेरै पीडा हुनेछ। म जीवनभर नै अर्जेन्टिनाका लागि खेलिरहन चाहन्थेँ, किनकि अर्जेन्टिनाका लागि खेल्नु तपाईंलाई हुन सक्ने सबैभन्दा सुन्दर कुरा हो,’ मेसीले भने।

खेलअघि बेनिनका कप्तानले मेसीलाई उपहार र पत्र हस्तान्तरण गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेसीले निकोलस ओटामेन्डीका लागि अवसर सिर्जना गरे। ओटामेन्डीले अर्जेन्टिनालाई अग्रता दिलाए।

त्यसपछि मेसीले निको पाजका लागि गोलको अवसर सिर्जना गरे। पाजले त्यसलाई गोलमा परिणत गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।

अन्ततः मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको जित ३–० बनाए। यो उनको अन्तर्राष्ट्रिय करियरको १२६औँ गोल हो।

अन्तिम सिटी बजेसँगै अर्जेन्टिना र बेनिनका खेलाडीसहित रेफ्रीले पनि मेसीलाई घेरेर बिदाइ गरे। त्यसपछि रंगशालामा ड्रोन प्रदर्शन गरिएको थियो। अर्जेन्टिनी गायिका सोलेदाद पास्तोरुत्तीले मेसी र राष्ट्रिय टोलीसँगको यात्रालाई समर्पित गर्दै आफ्नो चर्चित गीत प्रस्तुत गरिन्।

मेसी अर्जेन्टिनाका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडीका रूपमा राष्ट्रिय टोलीबाट बिदा भएका छन्। उनले अर्जेन्टिनाका लागि २०८ खेलमा १२६ गोल गरेका छन्।

अन्तर्राष्ट्रिय फुटबलमा लामो समय निराशा र आलोचना खेपेका मेसीले अन्ततः अर्जेन्टिनालाई विश्वकप र कोपा अमेरिका उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले। लामो समयसम्म मेसीबाट जितको अपेक्षा गरेको अर्जेन्टिनाले उनको अन्तिम खेलमा भने उनीबाट केही मागेन, केवल धन्यवाद भन्यो।