काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।
मतदानका लागि आवश्यक तयारी पूरा गरिएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन आयोगबाट मतपेटिका ल्याइसकिएको छ भने मतदान प्रक्रियाका लागि ५०० जना मतदान अधिकृत खटिने भएका छन्।
नयाँ कार्यसमिति चयनका लागि २३ वटा मतपत्रको व्यवस्था गरिएको छ। क्षेत्र, प्रदेश तथा विभिन्न क्लस्टरअनुसार २३ वटा छुट्टाछुट्टै मतपत्र तयार पारिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार एक जना प्रतिनिधिलाई मतदान प्रक्रिया पूरा गर्न कम्तीमा ३० मिनेटदेखि ४५ मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ।
मतदान राष्ट्रिय सभागृह र खुलामञ्चमा हुनेछ। प्रदेशअनुसार मतदानस्थल तोकिएको छ।
राष्ट्रिय सभागृहको ‘मतदान केन्द्र क’ मा वाग्मती प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।
त्यस्तै, खुलामञ्चको ‘मतदान केन्द्र ख’ मा कोसी प्रदेश र मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हलमा मतदानको व्यवस्था गरिएको छ। गण्डकी प्रदेशका प्रतिनिधिले मिहाली हलमा तथा लुम्बिनी प्रदेशका प्रतिनिधिले पहाड हलमा मतदान गर्नेछन्।
कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले पनि पहाड हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ।
मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।