पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थीसहित पाँच जनाको मृत्यु

१ हप्ता अगाडि
पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थीसहित पाँच जनाको मृत्यु

पोखरा । कास्कीको पोखरामा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु भएका चार जनाको पहिचान खुलेको छ।

पोखरा महानगरपालिका-२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटनामा परेको हो। कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार मृत्यु हुनेमा १५ वर्षीया ममता तिवारी, करिब १४ वर्षीय अशिम कँडेल, १५ वर्षीया सुवेच्छा तिवारी र पोखरा–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारी छन्। मृत्यु भएकी करिब १५ वर्षीया अर्की बालिकाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

ग२ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा १४ जना घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका विद्यार्थी कक्षा १० मा अध्ययनरत थिए। उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै गरेको बताइएको छ।