दुर्गा प्रसाईंले गठन गरे ‘नेपाल पथ दल’, चुनाव चिह्न घर

१ हप्ता अगाडि
दुर्गा प्रसाईंले गठन गरे ‘नेपाल पथ दल’, चुनाव चिह्न घर

काठमाडौं । मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंको नेतृत्वमा "नेपाल पथ दल" निर्वाचन आयोगमा दर्ता भएको छ।

प्रसाईंले लामो समयदेखि नागरिक बचाउ महाअभियानको नेतृत्व गर्दै आएका थिए। गत फागुनमा भएको निर्वाचनअघि उक्त अभियानलाई "नागरिक बचाउ दल" नामकरण गरेर निर्वाचन आयोगमा दर्ता गरिएको थियो। त्यसबेला माधवप्रसाद खतिवडा दलका अध्यक्ष थिए।

अहिले नागरिक बचाउ दलको नाम संशोधन गरेर नेपाल पथ दल राखिएको खतिवडाले बताए। उनका अनुसार नाम संशोधन भई प्रमाणपत्रसमेत प्राप्त भइसकेको छ।

यसअघि प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका डा. धवलशमशेर राणासँग सहकार्य गर्ने तयारी गरेका थिए। उनीहरूले मिलेर ‘जय नेपाल पार्टी’ गठन गर्ने घोषणा गरे पनि केही विषयमा सहमति हुन नसकेपछि प्रसाईं अलग भएका थिए।

हाल जय नेपाल दल निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको छ। प्रसाईंले भने नेपाल पथ दलको दर्ता प्रमाणपत्र प्राप्त गरिसकेका छन्। दलको चुनाव चिह्न परिवारसहितको घर रहेको छ।

नेपाल पथ दलमा ३५१ सदस्यीय केन्द्रीय समिति रहेको बताइएको छ। प्रसाईंबाहेक अन्य पदाधिकारी चयन भएका छैनन्।

खतिवडाले धवलशमशेर नेतृत्वको जय नेपाल पार्टीसँग एकीकरण हुने सम्भावना अस्वीकार गरेका छन्। ‘हाम्रो दल दर्ता भइसक्यो। उहाँहरूको अझै भएको छैन। हाम्रो पार्टीमा आउन चाहनुहुन्छ भने स्वागत गर्छौं,’ उनले भने।