काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा विजय हासिल गरेका हुन्।
सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो।
कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन्। बदर मत घटाएर सदर मतका आधारमा गणना गर्दा उनको मत प्रतिशत ९४.२५ रहेको छ। यस्तै, खड्गीले कुल खसेको मतको ५.३५ प्रतिशत मत प्राप्त गरेका छन् भने ०.७७ प्रतिशत मत बदर भएको छ।
थापाले खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन, संगठनात्मक सुधार र पुस्तान्तरणको अभियानमा सक्रिय रहँदै आएका थिए। तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा सम्पन्न विशेष महाधिवेशनले उनलाई पार्टी सभापतिमा चयन गरेको थियो।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि नेपाली कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको विषयलाई लिएर बहस उत्पन्न भएको थियो। त्यसपछि सम्पन्न १५औँ महाधिवेशनको निर्वाचनमा विजयी हुँदै थापाले पार्टी नेतृत्वमा आफ्नो स्थान थप सुदृढ गरेका छन्।
थापाको विजयलाई कांग्रेसभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानका रूपमा हेरिएको छ। अब उनको नेतृत्वमा पार्टीले संगठन सुदृढीकरण, आन्तरिक एकता र आगामी राजनीतिक रणनीतिलाई कसरी अघि बढाउँछ भन्ने विषय चासोको केन्द्रमा रहनेछ।