मौसम पूर्वानुमान

मनसुन बाहिरिए पनि केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१ हप्ता अगाडि
मनसुन बाहिरिए पनि केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालबाट मनसुन बाहिरिए पनि पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपात हुन सक्नेछ।

विभागका अनुसार बुधबार यस वर्ष औसत मितिभन्दा १२ दिन ढिलो गरी नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको हो। नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्ष अक्टोबर १४ मा मनसुन बाहिरिएको हो।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने देशका अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै, कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि वर्षा र हिमपात हुन सक्नेछ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ।

विभागका अनुसार आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

रातिको समयमा देशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

मनसुन बाहिरिएपछि पनि पश्चिमी तथा स्थानीय वायुको प्रभावले वर्षा हुन सक्ने भएकाले सम्भावित वर्षा, चट्याङ र हिमपातप्रति सचेत रहनु आवश्यक छ।