नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

१ हप्ता अगाडि
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल पञ्चमीका दिन दसैँघर तथा पूजाकोठामा स्कन्दमाताको आह्वान गरी श्रद्धाभक्तिपूर्वक पूजा गर्ने परम्परा छ।

पौराणिक मान्यताअनुसार स्कन्दमातालाई भगवान् स्कन्दकी माता पार्वतीका रूपमा पूजा गरिन्छ। स्कन्दमाताको स्वरूप कमलपुष्प धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ। धार्मिक विश्वासअनुसार स्कन्दमाताको आराधना गर्नाले शक्ति, ऐश्वर्य तथा विद्या प्राप्त हुन्छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेर देवी दुर्गाको पूजा आरम्भ गरिएको थियो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिएको थियो। पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्र पाठ गर्ने चलन छ। यस अवधिमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजा आराधना र दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्छ।

दुर्गा पक्षका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवी दुर्गाको विशेष आराधना गर्ने परम्परा छ। नौ दिनसम्म पूजा गरी विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ।

यसरी नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन बडादसैँ पर्व मनाउने गर्छन्।