काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा अन्य पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
रातिको समयमा कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, पश्चिमी न्यूनचापीय प्रणालीको पनि आज आंशिक प्रभाव रहने भएकाले मौसममा बदलीसँगै केही स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको हो।