काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज नौ दुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन वैदिक सनातन धर्मावलम्बीले कात्यायनी देवीको विशेष पूजा गर्ने परम्परा छ।
पौराणिक मान्यताअनुसार देवताहरूको कार्यसम्पादनका लागि भगवती देवी कात्यायन ऋषिको आश्रममा सुन्दरी कन्याका रूपमा अवतार लिएकी थिइन्। उनको बालसौन्दर्यबाट प्रभावित ऋषिले पुत्रीका रूपमा स्वीकार गरेपछि उनको नाम कात्यायनी रहन गएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ।
आजका दिन भक्तजनले दसैँ घर तथा पूजा कोठामा कात्यायनी देवीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्छन्। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा पनि छ।
धार्मिक विश्वासअनुसार नवरात्रमा दुर्गा देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्ने गर्छन्।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जौँको जमरा राखेर शैलपुत्री देवीको पूजा गरिन्छ। दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा आराधना गरिन्छ। छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने धार्मिक परम्परा छ।
नवरात्रका नौ दिनसम्म गरिएको पूजा आराधनापछि विजयादशमीका दिनदेखि देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने चलन छ। देशका विभिन्न भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाइन्छ भने कतिपय परिवारमा कुल परम्पराअनुसार विजयादशमीका दिनमात्र टीका लगाउने प्रचलन छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार शास्त्रीय मान्यताअनुसार दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउन सकिन्छ। यसरी नेपालीले बडादसैँलाई धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक परम्परासँग जोडेर मनाउने गर्छन्।