दसैँ मनाउन पाँच दिनमै तीन लाख ४८ हजारभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिए

६ दिन अगाडि
दसैँ मनाउन पाँच दिनमै तीन लाख ४८ हजारभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिए

काठमाडौं । दसैँ मनाउन राजधानीबाट घर फर्किने यात्रुको चाप बढेको छ । घटस्थापनादेखि असोज २९ गतेसम्म काठमाडौं उपत्यकाबाट तीन लाख ४८ हजार ३१४ जना बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९ र असोज २९ गते ८५ हजार ५६१ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । पछिल्ला दिनमा घर फर्किने यात्रुको संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ ।

दसैँमा परिवार र आफन्तसँग भेटघाट गर्न राजधानीमा अध्ययन, रोजगारी तथा व्यवसायमा संलग्न मानिस गाउँ फर्किन थालेपछि उपत्यकाका विभिन्न नाकामा सार्वजनिक यातायातको चहलपहल बढेको छ । फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडाबाट यात्रु बाहिरिरहेका छन् ।

यात्रुको संख्या बढेसँगै सवारीसाधन व्यवस्थापनमा यातायात व्यवसायीलाई चुनौती थपिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष तथा नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडकको अवस्थाका कारण यातायात सञ्चालन प्रभावित भएको बताए ।

उनका अनुसार विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिएका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न र काठमाडौं फर्किन समस्या भइरहेको छ । असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमै रोकिएका थिए । त्यसले दसैँका यात्रु व्यवस्थापनमा थप समस्या पारेको व्यवसायीको भनाइ छ ।

ट्राफिक प्रहरीका अनुसार हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले दसैँका लागि अग्रिम टिकट बुकिङ गरेका छन् । असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७, असोज २७ गते १५ हजार ५५३, असोज २८ गते १८ हजार ५२९ र असोज २९ गते पाँच हजार ७४ जनाले अग्रिम टिकट लिएका छन् ।

यातायात व्यवसायी महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, सरकारले तोकेको भाडा तिर्न र यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।

दसैँमा राजधानीबाट बाहिरिने यात्रुको चाप बढेसँगै सडकको अवस्था, सवारीसाधनको उपलब्धता र यात्रुको सुरक्षालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने चुनौती देखिएको छ ।