काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सकिएको छ । मधेश र बागमती प्रदेशबाट निर्वाचित हुने पदको अन्तिम परिणाम आएसँगै असोज २३ गते रातिदेखि सुरु भएको मतगणना सम्पन्न भएको हो ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडित समूहबाट केन्द्रीय सदस्य चयनका लागि भएको मतगणना राति नै सकिएको थियो । सहमहामन्त्रीसहित खुला र महिला केन्द्रीय सदस्यका लागि खसआर्य तथा थारूतर्फको मतगणना पनि राति अबेर सम्पन्न भएको उनले बताए ।
सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको र त्यसपछि औपचारिक नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । अन्य पदको मतगणना यसअघि नै सकिएको थियो ।
यसपटक कांग्रेसले अघिल्लो महाधिवेशनको तुलनामा निकै छोटो समयमा मतगणना सम्पन्न गरेको छ । १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मत गन्न १२ दिन लागेको थियो । यसपटक भने सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सकिएको कटुवालले जानकारी दिए ।
उनका अनुसार मतगणना सुरु भएदेखि नै दिनरात गरी झन्डै २५ समूह बनाएर गणना गरिएको थियो । यसपटक करिब एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको थियो । कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद थिए भने प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।
मतदान र मतगणनाका क्रममा कुनै विवाद नभएको तथा निर्वाचन सौहार्दपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन समितिको भनाइ छ ।
निर्वाचन समितिले दसैँलगत्तै नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण गराउने तयारी गरेको छ । त्यसपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्नेछ । उक्त बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी खाका तयार पार्ने विषयमा पनि छलफल हुने बताइएको छ ।