काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मधेससहित कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
देशका हिमाली भू–भागका साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
यसैगरी, तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोसी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने र बिहानपख तराई क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइन्छ।