काठमाडौं । चीनमा पहिलोपटक विद्युतीय व्यावसायिक विमानको पाइलटसहित सफल परीक्षण उडान गरिएको छ ।
कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) का अनुसार सीई-२५ए नामक विद्युतीय विमानले शनिबार बिन्झाउमा परीक्षण उडान सम्पन्न गरेको हो ।
पिपुल्स डेलीका अनुसार परीक्षण उडानका क्रममा विमानमा दुई जना पाइलट र एक जना इन्जिनियर सवार थिए । उडानका क्रममा विमान सामान्य रूपमा सञ्चालन भएको र सबै कार्यसम्पादन सूचकले अपेक्षाअनुसार काम गरेको कोम्याकले जनाएको छ ।
अन्तरशहरी व्यावसायिक उडानका लागि डिजाइन गरिएको यो विमानमा १९ जनासम्म यात्रु सवार हुन सक्छन् । यसले १० टनसम्म तौल बोक्न सक्ने जनाइएको छ ।
कोम्याकका अनुसार सीई–२५ए विमान प्रतिघण्टा ३०० किलोमिटरको गतिमा उड्न सक्छ । यसको अधिकतम उडान उचाइ २ हजार ४०० मिटर र एकपटकमा उड्न सक्ने दूरी ४०० किलोमिटर रहेको छ ।
विद्युतीय ऊर्जाबाट सञ्चालन हुने यस विमानको सफल परीक्षणले चीनको विद्युतीय हवाई यातायात प्रविधि विकासमा अर्को कदम थपेको छ ।