विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानलाई नागरिकता दिने प्रक्रिया खुल्यो

१ हप्ता अगाडि
विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानलाई नागरिकता दिने प्रक्रिया खुल्यो

काठमाडौं । विदेशमा जन्मिएका, नेपाली आमाका सन्तान तथा बाबुको पहिचान नभएका व्यक्तिले अंगीकृत नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया थप स्पष्ट भएको छ ।

सरकारले नेपाल नागरिकता नियमावली, २०६३ को पाँचौँ संशोधनमार्फत त्यस्ता व्यक्तिले नागरिकता प्राप्त गर्न गर्नुपर्ने स्वघोषणाको औपचारिक ढाँचा निर्धारण गरेको हो । गृह मन्त्रालयले संशोधित नियमावली सार्वजनिक गरेसँगै नागरिकता ऐनमा रहेको व्यवस्था कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढेको छ ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ को उपदफा (५ख) मा नेपालको नागरिक आमाबाट विदेशमा जन्मिएका, नेपालमा स्थायी बसोबास गरेका, विदेशी मुलुकको नागरिकता वा राहदानी नलिएका र बाबुको पहिचान नभएका व्यक्तिले अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

तर ऐनमा व्यवस्था भए पनि स्वघोषणा गर्ने औपचारिक ढाँचा स्पष्ट नहुँदा यसको कार्यान्वयनमा प्रक्रियागत जटिलता रहँदै आएको थियो । सरकारले नियमावलीको पाँचौँ संशोधनमार्फत अनुसूची ७ग थपेर उक्त प्रक्रिया स्पष्ट पारेको हो ।

नयाँ व्यवस्थाअनुसार नागरिकता लिन चाहने व्यक्तिले आफू नेपाली नागरिक आमाबाट विदेशमा जन्मिएको, नेपालमा स्थायी बसोबास गर्दै आएको, विदेशी नागरिकता वा राहदानी नलिएको र हालसम्म बाबुको पहिचान नभएको विषयमा स्वघोषणा गर्नुपर्नेछ ।

स्वघोषणामा सम्बन्धित व्यक्तिले आफ्नो नाम, थर, जन्ममिति, दस्तखत र मिति उल्लेख गर्नुपर्नेछ । साथै दायाँ र बायाँ हातका औँठाछापसमेत लगाउनुपर्ने व्यवस्था गरिएको छ । स्वघोषणा गराउने अधिकृतले पनि आफ्नो नाम, पद, दस्तखत र मिति खुलाउनुपर्नेछ ।

नियमावलीले सम्बन्धित व्यक्तिको स्वघोषणासँगै आमाले गर्नुपर्ने स्वघोषणाको ढाँचासमेत छुट्टै निर्धारण गरेको छ । आमाले आफ्नो सन्तान नेपाली नागरिक आमाबाट विदेशमा जन्मिएको, नेपालमा स्थायी बसोबास गरेको, विदेशी नागरिकता वा राहदानी नलिएको र सन्तानको बाबुको पहिचान नभएको व्यहोरा स्वघोषणा गर्नुपर्नेछ ।

आमाले स्वघोषणा गर्दा आफ्नो नागरिकता प्रमाणपत्र नम्बर, नागरिकता जारी भएको जिल्ला, जारी मिति र राष्ट्रिय परिचय नम्बरसमेत उल्लेख गर्नुपर्नेछ ।

व्यक्ति र आमाले गरेका दुवै स्वघोषणा सत्य भएको र झुटो ठहरिए कानुनबमोजिम सजाय भोग्न तयार रहेको प्रतिबद्धतासमेत जनाउनुपर्ने व्यवस्था गरिएको छ ।

नियमावलीको अनुसूची ७ग नियम ७ को उपनियम (१ख) को खण्ड (ङ) सँग सम्बन्धित छ । यससँगै नागरिकता ऐनमा पहिल्यै समेटिएको व्यवस्था कार्यान्वयन गर्न आवश्यक प्रशासनिक प्रक्रिया थप स्पष्ट भएको छ ।