जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा समस्या नरहेको बताएका छन् ।
शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लामिछानेले सरकारलाई पार्टीभित्रैबाट दिइने सल्लाह, सुझाव र आलोचनालाई विवाद वा फुटको संकेतका रूपमा बुझ्न नहुने बताए ।
उनले कहिलेकाहीँ सरकारले गरेका कामबारे पार्टीभित्रैबाट प्रश्न उठाउँदा त्यसलाई लिएर ठूलो हल्लाखल्ला हुने गरेको उल्लेख गर्दै त्यस्ता हल्लामा विश्वास गर्नुपर्ने आधार नरहेको बताए ।
सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न केन्द्रित भएर काम गरिरहेको उनको भनाइ थियो । पार्टीले आफ्नै सरकारलाई दिने सुझाव र आलोचना लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै लामिछानेले यसलाई बलियो आन्तरिक लोकतन्त्रको उदाहरणका रूपमा बुझ्न आग्रह गरे ।
रास्वपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीभित्र पक्ष र विपक्षमा हुने बहसलाई सकारात्मक रूपमा लिने गरेको उनले बताए ।
कार्यक्रममा लामिछानेले यसपटक जनताले रास्वपालाई परिवर्तनको अवसर दिएको उल्लेख गर्दै मधेशका जनताले पनि परिवर्तनको अनुभूति गर्न पाउनुपर्ने बताए ।
उनले अहिले प्राप्त जनमतबाट मधेशमा परिवर्तनको आशा र अनुभूति दिलाउन नसके अर्को पटक मत माग्न नआउने बताए । जनतालाई झुक्याएर मत माग्ने राजनीतिक चरित्र आफूलाई स्वीकार्य नहुने उनको भनाइ थियो ।
मधेशी जनताको जीवनमा परिवर्तन ल्याउने आशा, भरोसा र विश्वासका साथ प्राप्त अवसरलाई खेर जान नदिन उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।