काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी प्रदेशसहित वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
विभागका अनुसार कोसी प्रदेशका हिमाली तथा पहाडी भूभाग र वाग्मती तथा गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।
यस्तै, आज राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
रातिको समयमा कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने विभागले जनाएको छ ।