काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार सार्वजनिक बिदा दिए पनि राजस्व संकलनसँग सम्बन्धित कार्यालय खुला रहने भएका छन् ।
आन्तरिक राजस्व विभागले करदातालाई सेवा प्रवाहमा सहजीकरण गर्न ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र देशभरका सबै आन्तरिक राजस्व कार्यालय खुला राख्न निर्देशन दिएको हो ।
छठ पर्वको भोलिपल्ट कात्तिक ३० गते सार्वजनिक बिदा दिइएको छ । तर, उक्त दिन आर्थिक वर्षको आठौँ महिनाको अन्तिम दिनसमेत भएकाले राजस्व परिचालन प्रभावित हुन नदिन कार्यालय खुला राख्ने निर्णय गरिएको विभागका निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्षको आय विवरण दाखिला, आर्थिक ऐन २०८३ ले दिएका छुट सुविधा उपयोग, बक्यौता फरफारक तथा अन्तःशुल्कजन्य वस्तुको निकासीलगायत कामका लागि कार्यालय खुला रहनेछन् ।
विभागले राजस्व संकलन गर्ने बैंकहरूसँग समन्वय गरी सेवा प्रवाहको व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।