काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अर्को साता चीनमा ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने तयारी भएको छ ।
ह्वाइट हाउसले तीनै देशका राष्ट्रपतिबीच शिखर सम्मेलनका क्रममा भेटवार्ता हुन लागेको जानकारी दिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प चीनको दक्षिणी सहर सेन्जेनमा आयोजना हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनमा सहभागी हुने क्रममा तीनै नेताबीच भेटवार्ता गर्ने तयारी छ ।
ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले विश्वमा आणविक हतियारको सङ्ख्या घटाउनेलगायत विषयमा छलफल गर्ने बताइन् । आणविक हतियारको विस्तार अत्यन्त खतरनाक रहेको ट्रम्पको बुझाइ रहेको उनको भनाइ छ ।
विश्वका तीन ठूला आणविक शक्तिका नेताबीच हुने भनिएको बैठकमा इरानको विषयले पनि प्रवेश पाउन सक्ने अनुमान गरिएको छ । तर, युक्रेनको विषय भने छलफलमा नउठ्ने बताइएको छ । यद्यपि, रुस र चीनले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
समाचार संस्था एसोसिएटेड प्रेस (एपी) र रोयटर्सका अनुसार अमेरिकी एक वरिष्ठ अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा उक्त वार्ताबाट कुनै सम्झौता हुने अपेक्षा नरहेको बताएका छन् ।
ट्रम्प बुधबार राति अबेर सेन्जेन पुग्नेछन् । त्यहाँ २१ सदस्य राष्ट्र सहभागी दुईदिने एपेक सम्मेलन आयोजना हुनेछ । बिहीबार उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग छुट्टै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । सन् २०२५ मा दोस्रोपटक अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्प र सीबीच हुन लागेको यो चौथो भेट हुनेछ ।
ह्वाइट हाउसकी प्रवक्ता वेल्सका अनुसार ट्रम्पले आफ्नो चीन भ्रमणको समापन चिनियाँ र रुसी राष्ट्रपतिसँगको भेटवार्ताबाट गर्नेछन् । यसअघि उनी मंगलबार फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।
अमेरिकी नागरिकका लागि ऐतिहासिक उपलब्धि हासिल गर्नु र हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी हितलाई अघि बढाउनु भ्रमणको मुख्य उद्देश्य रहेको वेल्सले बताएकी छन् ।