उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व

६ दिन अगाडि
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ । कात्तिक शुक्ल सप्तमीका दिन बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै चारदिने छठ पर्वको समापन गरेका हुन् ।

महोत्तरीसहित तराई-मधेशका विभिन्न जिल्लामा सूर्योदयसँगै व्रतालुहरू नदी, पोखरी तथा जलाशयका घाटमा पुगेर सूर्यदेवलाई अर्घ्य दिएका थिए । अर्घ्य अर्पण गरेपछि व्रतालुहरू छठ घाटबाट घर फर्किएका छन् ।

यसअघि आइतबार साँझ षष्ठी तिथिका दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए । छठको मुख्य विधिका रूपमा रहेको साँझको अर्घ्यलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ । त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वको सुरुवात व्रतालुहरूले ‘नहाय–खाय’ विधिबाट गरेका थिए । चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रत सङ्कल्प गरेका उनीहरूले पञ्चमीका दिन निराहार व्रतका क्रममा राति एक छाक अलिनो भोजन गरेर ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

त्यसपछि षष्ठीका दिन दिनभर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत सम्पन्न भएको हो ।

पर्व सम्पन्न गरी घर फर्केपछि व्रतालुहरूले दीनदुःखी तथा आशामुखीहरूलाई अन्न र वस्त्र दान गर्ने तथा प्रसाद ग्रहण गर्ने परम्परा छ । यससँगै छठको प्रसाद खाने र खुवाउने क्रम सुरु हुन्छ ।

छठमा ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार, केरा तथा अन्य फलफूल र माटोका भाँडामा जमाइएको दही सूर्यदेवलाई चढाइन्छ । पूजामा चढाइएका यी सामग्रीलाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।

मिथिलामा छठको प्रसाद बाँड्ने परम्परा विशेष महत्त्वका साथ मनाइन्छ । छोरीचेली, फुपू, मित तथा अन्य इष्टमित्रकहाँ प्रसादको ‘भार’ अर्थात् सोली नै पठाउने मैथिल परम्परा छ । मिथिलामा छठको प्रसाद खाने र खुवाउने क्रम महिनौँसम्म चल्ने गर्छ ।

छठ व्रतको प्रभावले सुख, सन्तोष प्राप्त हुने तथा रोगव्याधिबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको छ । सूर्यदेवको उपासना, शुद्धता, संयम र पारिवारिक सद्भावसँग जोडिएको यो पर्व तराई–मधेशमा विशेष उल्लासका साथ मनाइन्छ ।