सुनको मूल्य एकैदिन ४ हजार ८ सय रुपैयाँ बढ्यो, तोलाको २ लाख ४७ हजार ४ सय कायम

८ घण्टा अगाडि
सुनको मूल्य एकैदिन ४ हजार ८ सय रुपैयाँ बढ्यो, तोलाको २ लाख ४७ हजार ४ सय कायम

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सुनचाँदीको मूल्यमा सोमबार वृद्धि भएको छ । सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ पनि ४५ रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि सुनको मूल्यमा लगातार ठूलो गिरावट आएको थियो । गत शुक्रबार मात्रै प्रतितोला १२ हजार २ सय रुपैयाँ घटेको सुन बिहीबार पनि ३ हजार ३ सय रुपैयाँले सस्तिएको थियो ।

त्यस्तै, कात्तिक २७ गते प्रतितोला १२ हजार ६ सय रुपैयाँ, कात्तिक २९ गते १ हजार ५ सय रुपैयाँ, कात्तिक ३० गते १ हजार १ सय रुपैयाँ, मंसिर १ गते १ हजार ९ सय रुपैयाँ र मंसिर २ गते ६ हजार ३ सय रुपैयाँले सुनको मूल्य घटेको थियो ।

कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको सुन त्यसपछिका सात कारोबार दिनमा ४१ हजार ७ सय रुपैयाँले घटेको थियो । निरन्तरको गिरावटपछि सोमबार भने बजारमा मूल्य बढेको हो ।

चाँदीको मूल्य पनि सोमबार प्रतितोला ४५ रुपैयाँ बढेर ३ हजार १ सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।