नेपाल–भारतबीच आईआईटीदेखि पेट्रोलियम पूर्वाधारसम्मका समझदारी

७ घण्टा अगाडि
नेपाल–भारतबीच आईआईटीदेखि पेट्रोलियम पूर्वाधारसम्मका समझदारी

काठमाडौं । नेपाल र भारतबीच शैक्षिक पूर्वाधार, रेल सञ्जाल, पेट्रोलियम भण्डारण तथा वितरण प्रणाली विस्तारलगायत ६ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका समझदारीअनुसार भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को क्याम्पस स्थापना गर्न सहयोग गर्ने भएको छ ।

समझदारीअनुसार भारतले नेपाललाई एउटा आईआईटी क्याम्पस उपहारस्वरूप उपलब्ध गराउनेछ । यसबाट नेपालमा प्राविधिक तथा उच्च शिक्षाको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, विराटनगर–जोगबनी रेल सेवा सञ्चालन गर्ने विषयमा पनि सहमति भएको छ । यसले नेपाल र भारतबीचको सीमापार रेल सम्पर्क विस्तार गर्नुका साथै यात्रु तथा व्यापारिक आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

पेट्रोलियम पूर्वाधारतर्फ भारतले झापामा पेट्रोलियम टर्मिनल निर्माण गरिदिने भएको छ । यसका साथै नेपालमा ग्यास पाइपलाइन विस्तारका लागि पनि भारतले सहयोग गर्ने समझदारी भएको छ । यी परियोजना कार्यान्वयनमा आएमा पेट्रोलियम पदार्थ तथा ग्यासको ढुवानी र आपूर्ति प्रणाली थप व्यवस्थित हुने अपेक्षा छ ।

रेल पूर्वाधार विस्तारअन्तर्गत जयनगर–जनकपुर रेलमार्गलाई निजगढस्थित काठमाडौं–तराई/मधेस द्रुतमार्गसम्म जोड्ने योजना अघि बढाइने भएको छ । त्यसैगरी, भारतको रक्सौलदेखि वीरगन्जसम्मको रेलमार्गलाई पनि द्रुतमार्गसम्म जोड्ने समझदारी भएको छ ।

यी पूर्वाधार परियोजना कार्यान्वयन भएमा नेपालको रेल सञ्जाल, सीमापार व्यापार, औद्योगिक आपूर्ति र यातायात पूर्वाधारमा नयाँ सम्भावना खुल्नेछ । विशेषगरी पेट्रोलियम तथा ग्यास आपूर्ति प्रणालीको विस्तार र रेलमार्गलाई द्रुतमार्गसँग जोड्ने योजनाले नेपालको आर्थिक तथा पारवहन संरचनामा महत्त्वपूर्ण प्रभाव पार्न सक्नेछ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएका यी समझदारीलाई दुई देशबीचको आर्थिक तथा पूर्वाधार सहकार्य विस्तारको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।