काठमाडौं । भारतले नेपालमा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, प्रभावित समुदायको पुनर्स्थापना तथा दीर्घकालीन विकासका लागि २४ हजार करोड रुपैयाँ बराबरको सहयोग प्याकेज घोषणा गरेको छ ।
सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्याकेज घोषणा गरेका हुन् ।
मोदीले नेपालमा हालै आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे । उनले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित समुदायको पुनर्स्थापनालाई प्राथमिकतामा राखेर भारतले सहयोग गर्ने बताए ।
मोदीले घोषणा गरेको प्याकेजलाई ‘विकास साझेदारी प्याकेज’ का रूपमा प्रस्तुत गरिएको छ । यसले तत्कालीन पुनर्स्थापनासँगै नेपालको दीर्घकालीन विकासलाई पनि नयाँ आधार प्रदान गर्ने उनको भनाइ छ ।
यद्यपि, घोषित २४ हजार करोड रुपैयाँमध्ये कति अनुदान, कति सहुलियतपूर्ण ऋण र कति अन्य वित्तीय सहयोग हो भन्नेबारे मोदीले विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।
नेपालले यसअघि बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र विभिन्न विकास आयोजनाका लागि भारतसँग दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्रस्ताव गरेको थियो । त्यसमा अनुदान, सहुलियतपूर्ण ऋण तथा पुनर्निर्माण सहयोग समेटिएको थियो ।
भारतको पछिल्लो घोषणाले नेपाल–भारत विकास साझेदारीमा नयाँ आर्थिक आयाम थप्ने अपेक्षा गरिएको छ । तर, सहयोगको वास्तविक स्वरूप, क्षेत्रगत बाँडफाँट र कार्यान्वयन प्रक्रियाले यसको प्रभाव निर्धारण गर्नेछ ।