नयाँदिल्ली । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह "बालेन" को राजकीय भारत भ्रमणको सुरुआतलाई विशेष अर्थपूर्ण रूपमा व्याख्या गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले राष्ट्रपति भवनमा प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी शाहलाई स्वागत गरेको तस्बिर सामाजिक सञ्जाल एक्समा सार्वजनिक गर्दै भ्रमणको सुरुआत ‘स्पेसल नोट’ अर्थात् विशेष सन्देशका साथ भएको बताएका हुन् ।
सोमबार बिहान राष्ट्रपति भवनमा मोदीले प्रधानमन्त्री शाहलाई औपचारिक स्वागत गरेका थिए । त्यसपछि भारतीय सेनाको एक टुकडीले शाहलाई गार्ड अफ अनर प्रदान गरेको थियो ।
जयसवालले उक्त स्वागत समारोहले भारत र नेपालबीचको विशेष आत्मीयता तथा लामो समयदेखिको मित्रतालाई प्रतिबिम्बित गरेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका हुन् । उनको भ्रमणका क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ अधिकारीसँग भेटवार्ता तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भइरहेका छन् ।