बालेनले उठाए नेपाल–भारत सहरबीच प्रत्यक्ष हवाई सम्पर्कको मुद्दा, मोदीको सम्बोधनमा उल्लेख भएन

६ घण्टा अगाडि
बालेनले उठाए नेपाल–भारत सहरबीच प्रत्यक्ष हवाई सम्पर्कको मुद्दा, मोदीको सम्बोधनमा उल्लेख भएन

नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतका विभिन्न सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा शाहले दुई देशका नागरिकको सहज आवागमनका लागि सहरहरूबीच सीधा हवाई सेवा सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

‘नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क गर्ने दिशामा अघि बढ्नुपर्छ,’ शाहले भने ।

नेपाल र भारतबीच हवाई सम्पर्क विस्तारको विषय उठाउँदै शाहले नागरिकस्तरको आवागमनलाई थप सहज बनाउनुपर्नेमा जोड दिएका हुन् । प्रत्यक्ष हवाई सेवाले पर्यटन, व्यापार तथा दुई देशबीचको जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।

तर, संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनका क्रममा हवाई सम्पर्क विस्तारबारे कुनै उल्लेख गरेनन् । उनले भने दुई देशबीच सडक सम्पर्क विस्तारलाई प्राथमिकताका साथ उठाएका थिए ।

दुई प्रधानमन्त्रीको सम्बोधनमा सम्पर्क सञ्जाल विस्तारको विषय आए पनि हवाई र सडक पूर्वाधारमा फरक प्राथमिकता देखिएको छ । शाहले हवाई सम्पर्कलाई जोड दिँदा मोदीले सडक सञ्जाल विस्तारमा जोड दिएका हुन् ।