मोदी र बालेनद्वारा पाँच परियोजनाको उद्घाटन तथा शिलान्यास, चार नयाँ परियोजनाको काम अघि बढ्ने

५ घण्टा अगाडि
मोदी र बालेनद्वारा पाँच परियोजनाको उद्घाटन तथा शिलान्यास, चार नयाँ परियोजनाको काम अघि बढ्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारतीय सहयोगमा अघि बढाइएका पाँच पूर्वाधार परियोजनाको संयुक्त रूपमा उद्घाटन तथा शिलान्यास गरेका छन् ।

सोमबार नयाँदिल्लीमा आयोजित कार्यक्रममा दुवै प्रधानमन्त्रीले स्वीच थिचेर चार परियोजनाको शिलान्यास र एउटा परियोजनाको उद्घाटन गरेका हुन् ।

शिलान्यास गरिएका परियोजनामा भारतको धार्चुलाबाट नेपालको दार्चुला जोड्ने मोटरेबल पुल, बनबासा नाकामा एकीकृत जाँच चौकी, झापाको चारआलीमा निर्माण हुने ग्यास पाइपलाइन र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना रहेका छन् ।

त्यसैगरी, भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन गरिएको छ ।

यी परियोजना कार्यान्वयनले नेपाल–भारतबीच सीमापार यातायात, व्यापार, ऊर्जा तथा पेट्रोलियम पूर्वाधारको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विशेषगरी दार्चुला–धार्चुला मोटरेबल पुल र बनबासा एकीकृत जाँच चौकीले सीमापार आवागमन तथा व्यापार सहजीकरणमा भूमिका खेल्ने अपेक्षा छ । त्यस्तै, तल्लो अरुण जलविद्युत् आयोजना र ग्यास पाइपलाइनले ऊर्जा तथा इन्धन आपूर्ति पूर्वाधार विस्तारमा योगदान पुर्‍याउनेछन् ।

मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको उद्घाटनसँगै नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने प्रणाली थप विस्तार हुने अपेक्षा गरिएको छ ।