नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह "बालेन" को नेतृत्वदृष्टि र नेपाल-भारत सम्बन्धप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका छन् ।
सोमबार नयाँदिल्लीमा दुई देशका प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले शाहले दुई महिनाअघि संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको स्मरण गर्दै उनको दृष्टिकोणको प्रशंसा गरेका हुन् ।
मोदीले हिन्दीमा सम्बोधन गर्दै भने, ‘दुई महिनाअघि उहाँले न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा गर्नुभएको सम्बोधनमा उहाँको दूरदर्शिताको स्पष्ट झलक देखेको थिएँ ।’
उनले प्रधानमन्त्री शाहसँग पछिल्ला केही घण्टामा भएको कुराकानीबाट पनि आफू प्रभावित भएको बताए ।
‘पछिल्ला केही घण्टाको कुराकानीमा मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका विषयमा उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेँ,’ मोदीले भने ।
भारतीय प्रधानमन्त्रीले नेपाली जनताले शाहलाई ऐतिहासिक जनादेश दिएको उल्लेख गर्दै प्रधानमन्त्री बनेकोमा बधाईसमेत दिए ।
मोदीको अभिव्यक्तिले प्रधानमन्त्री शाहको नेतृत्वदृष्टि र दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने विषयमा भएको छलफललाई सार्वजनिक रूपमा उजागर गरेको छ ।
प्रधानमन्त्री शाहको यो पहिलो राजकीय भारत भ्रमण हो । भ्रमणका क्रममा दुई देशबीच विभिन्न समझदारी तथा सम्झौतामा हस्ताक्षर हुनुका साथै पूर्वाधार, ऊर्जा, व्यापार, शिक्षा र विकास साझेदारीका विषयमा सहकार्य अघि बढाउने कार्यक्रम छन् ।