काठमाडौं । सामाजिक तथा स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय डा. चन्दन न्यौपानेले उज्यालो नेपाल पार्टी छोडेका छन्। उनले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग हुँदै साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गर्ने निर्णय गरेका हुन्।
पार्टी स्थापनाकालदेखि नै आबद्ध न्यौपानेले केन्द्रीय सदस्य तथा विदेश विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए। पार्टीको संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरेका उनले चितवन जिल्लामा संगठन निर्माण र विस्तारको नेतृत्व गरेका थिए।
गत संसदीय निर्वाचनमा पनि उनले पार्टीका तर्फबाट चितवन जिल्लाको समग्र निर्वाचन कमान्ड सम्हालेका थिए। संगठनात्मक गतिविधि र चुनावी परिचालनमा सक्रिय रहेका न्यौपानेको पार्टीबाट अलग हुने निर्णयलाई चितवनको राजनीतिमा चासोका साथ हेरिएको छ।
पेशाले चिकित्सक रहेका न्यौपानेले चितवन क्यान्सर अस्पताल, नारायणी सामुदायिक अस्पताल र चितवन मेडिकल कलेजलगायत स्वास्थ्य संस्थामा काम गरिसकेका छन्।
उनी लायन्स क्लब चितवन, नेपाल रेडक्रस सोसाइटी र इन्टरनेसनल मदर टेरेसा फाउन्डेसनमार्फत सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन्। नेपाल चिकित्सक संघमा आबद्ध भएर चिकित्सक तथा स्वास्थ्यकर्मीको हकहित र स्वास्थ्य सेवा सुधारका विषयमा समेत उनले आवाज उठाउँदै आएका छन्।
चितवनमा स्थानीय तह निर्वाचनको चर्चा सुरु भइरहेका बेला न्यौपानेले पार्टी छोड्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, उनले पार्टी परित्याग गर्नुको कारण र आगामी राजनीतिक योजनाबारे भने स्पष्ट विवरण सार्वजनिक भएको छैन।
पार्टीबाट अलग भए पनि सामाजिक सेवा, स्वास्थ्य क्षेत्र र जनहितका काममा आफ्नो सक्रियता जारी राख्ने उनको आगामी कदमलाई चासोका साथ हेरिएको छ।