काठमाडौं । देशका विभिन्न हिमाली क्षेत्रमा मंगलबार बिहान तीव्र गतिको हावाहुरी चलेको छ। हावाहुरीका कारण गोरखा र म्याग्दीमा विद्यालय तथा घरका छाना उड्नुका साथै सडक र विद्युत् सेवासमेत प्रभावित भएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा तीव्र हावाहुरी चलेको हो। हावाहुरीका कारण गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित एउटा आधारभूत विद्यालयको छाना पूर्ण रूपमा उडाएको छ।
वडाध्यक्ष भीमप्रसाद गुरुङका अनुसार हावाहुरीले सिंहदेवी आधारभूत विद्यालयका तीनवटा कोठाको छाना उडाएको छ। विद्यालयको संरचनामा पनि सामान्य क्षति पुगेको छ। सिङ्लाका केही घरगोठमा समेत सामान्य क्षति भएको उनले जानकारी दिए।
उनका अनुसार मंगलबार बिहान करिब साढे २ बजेदेखि सुरु भएको हावाहुरी बिहान ५ देखि ६ बजेसम्म अत्यधिक तीव्र थियो। बिहान सवा १० बजेसम्म पनि हल्का हावाहुरी चलिरहेको थियो।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले उपल्लो वायुमण्डलमा हावाको दबाब बढेका कारण यस्तो अवस्था देखिएको बताए। उनका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा ३० मिटर प्रतिसेकेन्डभन्दा बढी गतिमा हावा चलेको छ।
उनले यो कुनै ठूलो मौसमी प्रणालीको प्रभाव नभई उपल्लो वायुमण्डलमा देखिएको तीव्र हावाको चक्रका कारण भएको बताए। मध्याह्न १२ देखि दिउँसो १ बजेसम्म हावाहुरी क्रमशः कमजोर हुँदै जाने उनको भनाइ छ। काठमाडौं उपत्यकामा भने हिमाली क्षेत्रमा जस्तो तीव्र हावाहुरी चल्ने सम्भावना नरहेको उनले स्पष्ट पारे।
यसैगरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीमा पनि मंगलबार बिहानैदेखि तीव्र गतिको चिसो हावाहुरी चलेको छ। गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार, घार र खिवाङ क्षेत्रमा बिहान ३ बजेदेखि हावाहुरी चलेको हो।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार हावाहुरीले काभ्रेमा तीनवटा र नारच्याङमा एउटा घरको छाना उडाएको छ। रुख ढलेर भुरुङ–तातोपानीदेखि मान्द्रेढुंगा जोड्ने सडकसमेत अवरुद्ध भएको छ।
हावाहुरीका कारण गाउँपालिकाका विभिन्न बस्तीमा विद्युत् सेवा पनि अवरुद्ध भएको पुनले बताए। क्षतिको थप विवरण संकलन भइरहेको उनको भनाइ छ।
अन्नपूर्ण गाउँपालिका–३ का वडा सदस्य दुर्गादत्त सुवेदीले हावाहुरीको वेग अत्यधिक रहेको बताए। उनका अनुसार तीव्र हावाका कारण मानिसलाई समेत उडाउलाजस्तो महसुस भएको थियो। कालीगण्डकी करिडोरको कच्ची सडक र नदी किनारको बगरमा धुलो उडेपछि अन्नपूर्ण र धौलागिरि हिमाल बादलले ढाकिएजस्तो देखिएको उनले बताए।