काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास "सूर्यकिरण"को २०औँ संस्करण बुधबारदेखि सुरु भएको छ।
रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको अभ्यासको श्री मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले शुभारम्भ गरेका हुन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दुवै देशका गणस्तरका सैनिक सहभागी हुने अभ्यास मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ।
वि.सं. २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो।
अभ्यासका क्रममा मुख्यतः विपद् व्यवस्थापन, जङ्गल युद्धकला र मानवीय सहायतासम्बन्धी विषयमा दुवै देशका सैनिकले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र अनुभव आदानप्रदान गर्ने निर्देशनालयले जनाएको छ।
यस किसिमको सैनिक अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउनुका साथै दुवै देशका सेनाको पेसागत ज्ञान र आपसी समझदारी अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।