दानबहादुर कार्कीलाई आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश

एक घण्टा अगाडि
दानबहादुर कार्कीलाई आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा दानबहादुर कार्कीलाई तत्काल पुनर्बहाली गर्न अस्वीकार गरेको छ। बुधबार दुवै पक्षसँग अन्तरिम आदेशबारे छलफल गरेपछि न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागअनुसार अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।

सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश नदिएपछि मनोज केसीलाई आईजीपीका रूपमा काम गर्न बाटो खुलेको छ। मुद्दाको अन्तिम फैसला नआउँदासम्म केसी नै प्रहरी महानिरीक्षकको जिम्मेवारीमा रहनेछन्।

सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गर्दै केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। सोही दिन दर्ज्यानी चिह्न लगाएपछि केसीले आईजीपीको जिम्मेवारी सम्हालेका थिए।

सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्कीले आफूलाई पदबाट हटाउने निर्णय बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। कात्तिक २० गते दर्ता भएको रिटमा मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनुवाइ भएको थियो।

उक्त इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने निर्णय गर्नुअघि दुवै पक्षको भनाइ सुन्नुपर्ने भन्दै मंसिर ७ गतेका लागि पेसी तोकेको थियो। तर, त्यस दिन आईजीपी मनोज केसीले सर्वोच्च अदालतको आदेश नबुझेको भन्दै सुनुवाइ हुन सकेको थिएन।

त्यस दिन न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको थियो। त्यसपछि सुनुवाइ दुई दिन पर सरेर बुधबार भएको हो।

सर्वोच्चको पछिल्लो आदेशसँगै कार्कीलाई पदबाट हटाउने सरकारको निर्णय तत्काल बदर भएको छैन। अब उक्त निर्णय कानुनसम्मत भए–नभएको विषयको अन्तिम टुंगो मुद्दाको अन्तिम फैसलाबाट लाग्नेछ।