दशौँ राष्ट्रिय खेलकुद : आर्मीको विजयी सुरुआत, लुम्बिनी ३–० ले पराजित

५ घण्टा अगाडि
दशौँ राष्ट्रिय खेलकुद : आर्मीको विजयी सुरुआत, लुम्बिनी ३–० ले पराजित

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ। प्रतियोगिताको दोस्रो दिन बुधबार भएको पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ३-० गोलअन्तरले पराजित गरेको हो।

सुर्खेतस्थित प्रादेशिक रंगशालामा भएको खेलमा आर्मीले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो। आर्मीका भरत खवासले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

जर्सी नम्बर २१ मा मैदान उत्रिएका खवासको गोलसँगै पहिलो हाफ आर्मीले १–० को अग्रतामा टुंग्याएको थियो।

दोस्रो हाफमा आर्मीले थप दुई गोल गर्‍यो। खेलको ५२औँ मिनेटमा जर्सी नम्बर १० का लाखिम लिम्बूले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए।

त्यसको १२ मिनेटपछि, खेलको ६४औँ मिनेटमा लुम्बिनी प्रदेशका जर्सी नम्बर ४ का विकास लिम्बूले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि आर्मीको जित ३–० ले सुनिश्चित भएको थियो।

प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी प्रदेशका फागुराम थारुले पहेँलो कार्ड पाए। म्याच अफिसर वीरेन्द्र पाण्डेका अनुसार थारुलाई खेलमा पहिलो पहेँलो कार्ड देखाइएको थियो।

प्रतियोगिताको दोस्रो दिनको अर्को खेलमा बुधबार दिउँसो २ः३० बजे कोसी प्रदेश र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ।