चार महिनामा धानचामल आयात ४६.८३ प्रतिशतले घट्यो

एक घण्टा अगाडि
चार महिनामा धानचामल आयात ४६.८३ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालमा धानचामल आयात उल्लेख्य घटेको छ। साउनदेखि कात्तिकसम्म ५ अर्ब ४१ करोड ४८ लाख २१ हजार रुपैयाँ बराबरको ६८ हजार २२७ टन धानचामल आयात भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा धानचामल आयात परिमाणमा ६३.१६ प्रतिशत र मूल्यमा ४६.८३ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको पहिलो चार महिनामा १० अर्ब १८ करोड ४९ लाख ९ हजार रुपैयाँ बराबरको १ लाख ८५ हजार १९८ टन धानचामल आयात भएको थियो। यस वर्ष आयात परिमाण १ लाख १६ हजार ९७० टन र मूल्य ४ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीले घटेको छ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा १ अर्ब ३ करोड ६९ लाख ९६ हजार रुपैयाँ बराबरको २२ हजार ९०२ टन धान आयात भएको छ। यसमा १ अर्ब ३ करोड ६४ लाख ९५ हजार रुपैयाँको २२ हजार ९०२ टन धान र ५ लाख १ हजार रुपैयाँको ६७ किलो धानको बिउ समावेश छ।

गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५९ करोड ९० लाख रुपैयाँ बराबरको धान आयात भएको थियो। यस वर्ष धान आयातको परिमाण ७४ हजार ६७ टन र मूल्य २ अर्ब ५६ करोड २० लाख २० हजार रुपैयाँले घटेको छ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो चार महिनामा चामल मात्रै ४ अर्ब ३७ करोड ७८ लाख २५ हजार रुपैयाँ बराबरको ४५ हजार ३२४ टन आयात भएको छ। यसमा खैरो चामल, बासमती, अन्य चामल र कनिका समावेश छन्।

गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ५८ करोड ५८ लाख ९३ हजार रुपैयाँ बराबरको ८८ हजार २२७ टन चामल आयात भएको थियो। यस वर्ष चामल आयात परिमाण ४२ हजार ९०३ टन र मूल्य २ अर्ब २० करोड ८० लाख ६८ हजार रुपैयाँले घटेको छ।

चामलका विभिन्न प्रकारमध्ये बासमतीको आयात परिमाण घटे पनि मूल्य भने सामान्य बढेको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा २ अर्ब ४५ करोड ८४ लाख ९९ हजार रुपैयाँ बराबरको १८ हजार ९८ टन बासमती चामल आयात भएको छ। गत वर्ष सोही अवधिमा २ अर्ब ४४ करोड ८१ लाख ७५ हजार रुपैयाँ बराबरको २२ हजार ८८ टन बासमती चामल आयात भएको थियो।

बासमतीबाहेक अन्य अर्धकुटेको तथा पूर्णकुटेको चामलको आयात भने उल्लेख्य घटेको छ। गत वर्ष पहिलो चार महिनामा ४ अर्ब ४ करोड ७९ हजार रुपैयाँ बराबरको ६२ हजार ८८३ टन यस्तो चामल आयात भएकोमा यस वर्ष १ अर्ब ८९ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको २६ हजार ५७५ टन मात्रै आयात भएको छ।

कनिकाको आयात पनि घटेको छ। गत वर्ष १३ करोड ३२ लाख १९ हजार रुपैयाँ बराबरको ३ हजार २५२ टन कनिका आयात भएकोमा यस वर्ष २ करोड ७१ लाख ९ हजार रुपैयाँ बराबरको ६४९ टन मात्रै भित्रिएको छ।

त्यस्तै, गत वर्ष ४ लाख २० हजार रुपैयाँ बराबरको ३.४ टन खैरो चामल आयात भएकोमा यस वर्ष १ लाख १८ हजार रुपैयाँ बराबरको ०.८ टन मात्रै आयात भएको छ।

धानचामल आयातबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४४ करोड ६२ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयातबाट ७७ करोड ४१ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

नेपालको धानचामल आयातमा यस अवधिमा पनि भारतकै वर्चस्व देखिएको छ। कुल आयातको ठूलो हिस्सा भारतबाटै आउने गरेको विभागको तथ्यांकले देखाउँछ।