निर्वाचन आयोगले अद्यावधिक गर्‍यो गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति

एक घण्टा अगाडि
निर्वाचन आयोगले अद्यावधिक गर्‍यो गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई अद्यावधिक गरेको छ। गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण आयोगले अद्यावधिक गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गरिएको जानकारी दिए।

कांग्रेसले गत कात्तिक १६ गते आयोगमा २३१ सदस्यीय नयाँ कार्यसमितिको विवरण बुझाएको थियो। त्यससँगै निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण, संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज र निर्णयहरू पनि पेस गरिएको थियो।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ को उपदफा ३ मा दलका पदाधिकारी हेरफेर भएमा आयोगले दल दर्ता किताबमा सोहीअनुसार विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ। निर्वाचित केन्द्रीय समिति र प्रदेश समितिको विवरण निर्वाचन भएको एक महिनाभित्र आयोगलाई उपलब्ध गराउनुपर्ने प्रावधान पनि ऐनमा छ।

कांग्रेसले बुझाएका कागजात र संशोधित विधानको अध्ययनपछि आयोगले विवरण अद्यावधिक गरेको हो। यद्यपि कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ।

अन्तिम फैसला नआउँदा कांग्रेस दुई समूहमा विभाजित छ। गगन थापा नेतृत्वको समूहले १५औँ महाधिवेशन सम्पन्न गरिसकेको छ भने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ।

गत पुसमा भएको विशेष महाधिवेशनबाट कांग्रेस नेतृत्वमा पुगेका थापा समूहले जिल्ला र प्रदेश तहका अधिवेशनलाई छाडेर असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गरेको थियो। देउवा पक्षले भने सबै तहका अधिवेशन गरेर महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।

विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले माघ २ गते मान्यता दिएपछि देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले वैशाख ४ गते आयोगको निर्णय सदर गर्दै उनीहरूको रिट खारेज गरेको थियो।

त्यसपछि देउवाले साउन ६ गते र खड्काले साउन १२ गते फैसलाको पुनरावलोकन माग गर्दै निवेदन दिएका थिए। सर्वोच्चले साउन २१ गते पुनरावलोकनको निस्सा दिएपछि आधिकारिकतासम्बन्धी विवाद फेरि अदालतमा विचाराधीन छ।

यसबीच देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन प्रक्रिया अघि बढाएको जानकारीसहितको पत्र निर्वाचन आयोगमा बुझाएको थियो। उक्त समूहले पेस गरेको महाधिवेशन कार्यतालिकालाई आयोगले अभिलेखमा राखेको छ।